
काठमाडौँ । नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताउनुभएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्लेख गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिनुभयो ।
‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भन्नुभयो, ‘न्यायालय सुधारको काम नभए पछिल्लो कदम बहिष्कारसम्म पनि हुनसक्छ । तर अहिलेनै त्यसबारेमा केही भनिहाल्न सकिँदैन ।’छलफलका क्रममा आफूहरुले संस्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले र मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुन्छ, हामीले त्यही कुराको माग गरेका हौँ ।’ दुई दिनअघि मात्रै नेपाल बारले कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिएको थियो । सोही अल्टिमेटम प्रतिबद्धताको माग गर्दै बारका पदाधिकारीले आज प्रधानन्यायाधीशलाई भेटेको थियो । रातोपाटीबाट