
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गर्नुभयो।
तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उहाँको भनाइ छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरूबीच द्वन्द्व चल्नु यो विडम्बनाको अवस्था भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरूसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएका र हटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेस गर्न तयार छु भनेको पनि उल्लेख गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,‘हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन । न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनसंरचना गर्नुपर्छ ।’
उहाँले न्यायालयको पुनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गर्नुभएको छ । यसैगरी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो । रातोपाटीबाट