
काठमाडौँ । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उहाँलाई तत्काल राजीनामा दिन सुझाउनुभएको छ ।
मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै न्यायिक निरुपणमा व्यावसायिक, तटस्थ र विश्वासयोग्य नदेखिएका प्रधानन्यायाधीश जबराका अव्यावसायिक, स्वार्थपूर्ण, राजनीति–प्रेरित एवम् बाह्य–प्रभावित कृयाकलापहरू सतहमा आइसकेको र सर्वोच्च अदालतकै १५ जना न्यायाधीश र सर्वोच्च बार एसोसिएसनले समेत आरोपित गर्दै राजीनामा मागेको पनि स्मरण गराउनुभएको छ ।
मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाका प्रधानबारे सम्बन्धित क्षेत्रबाटै यति धेरै आरोप र विरोध आएको अवस्थामा समेत सत्तापक्षीय गठबन्धनका दलहरु मौन रहनुमा गठबन्धनका नेताहरूले सर्वोच्च अदालतबाट विशेषगरी प्रधानन्यायाधीशसँग व्यक्तिगत वा समूहगत राजनीतिक वा अन्य स्वार्थका निम्ति मोलमोलाई भइरहेको प्रष्ट देखिन्छ भने प्रमुख प्रतिपक्षको अभिव्यक्ति ले पनि यसतर्फ नै इंगित गरेको छ ।’
प्रधानन्यायाधीशकै परमादेशबाट बनेको गठबन्धन सरकार र प्रतिपक्षी दलका यस्ता अपारदर्शी व्यवहारले एकातिर सर्वसाधारण जनताले अदालतबाट पाउनुपर्ने न्यायमा ढिलाइ र न्यायपालिकाप्रति नै जनताको अविश्वास बढ्दै गइरहेको मात्र नभई संसदीय व्यवस्थाकै धज्जी उडिरहेको पनि मैनालीले जनाएका छन् । उहाँले तत्काल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संवैधानिक राष्ट्रप्रमुख हुने व्यवस्था ल्याउन रत्ति ढिलाइ गर्न नहुने प्रस्ट पार्नुभएको छ । रातोपाटीबाट