बेलायतमा काउन्सिलरको टिकट पाइन् नेपाली मूलकी सुमन पुनले

म्याग्दी । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका-४,च्युरीबोटमा जन्मिनुभएकी सुमन विगत १७ बर्षदेखि बेलायतमा बस्दै आउनुभएको छ ।अल्डरसटमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी सुमन सामाजिक कार्यकर्ताका साथै व्यापारमा पनि संलग्न हुनुहुन्छ । मन ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक रहनुभएकी पुन विगत सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशक समेत हुनुहुन्छ ।

२०१९ देखि कञ्जरभेटिभ पार्टीबाट राजनीतिक यात्रा थाल्नुभएकी पुनले पार्टीमा डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्षको रुपमा काम गरिरहनुभएको छ ।पूर्व गोरखा सैनिककी श्रीमती पुन स्थानीय नेपाली समुदायमा सक्रिय र परिचित हुनुहुन्छ। पुनले म्याग्दीको च्युरिबोटमा शैक्षिक तथा सामाजिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ ।
आफूले पार्टी र समाजको निम्ती पुर्याएको योगदानको कदर हुँदै टिकट पाएकोमा उनले हौसला मिलेको बताउनुभयो ।नेपालबाट युके पुगेर राजनीति गरेकाले चुनाव जित्न आफुले धेरै मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली नागरिक बेलायतको राजनीतिक दलको उम्मेदवार बन्न पाउनु निकै नै ठूलो कुरा भएको उहाँको भनाइ छ ।

‘महिला नेतृत्वको निम्ती अघि बढ्न खोजेकी छु,’उहाँले भन्नुभयो , ‘आशा छ सबैको साथ, सुझाव र सल्लाह पाउनेछु ।’ बेलायतमा नेपाली कला संस्कृतिलाई फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएकी पुनले केही समय अघि मात्र युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडिओ निर्माण गर्नुभएको थियो ।

उहाँले आफू बेलायतमा रहेका नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दै यहाँको राष्ट्रिय राजनीतिको बाटोमा हिडेको भन्दै यस कार्यमा साथ दिन आग्रह गर्नुभयो ।आफूलाई टिकट दिलाउन सहयोग गर्ने काउन्सिलरहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले अब काउन्सिलर भएर समाज र देशको सेवा गर्ने उद्देश्य रहेको समेत बताउनुभयो । उहाँ बेलायतमा रहने नेपालीहरु मध्ये एक शसक्त र निडर नेतृ रुपमा समेत छवि कमाउन सफल हुनुभएको छ । रसमुर काउन्सिलमा कञ्जरभेटिभ पार्टीको बहुमत रहँदै आएको छ ।बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार