
काठमाडौँ । फुट्दैजुट्दै आएको विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ। पछिल्लोपटक २०७७ मंसिरमा विवेकशील नेपाली र साझा पार्टीबीच एकता भएको थियो।अध्यक्ष रवीन्द्र मिश्रले बिहीबार ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गरेसँगै संयोजक मिलन पाण्डे पक्ष असन्तुष्ट छ।
अध्यक्ष मिश्र पक्षले केन्द्रीय समिति बैठक राखेर ‘मार्ग परिवर्तनस् विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेका छन्। अध्यक्ष मिश्रले राखेको दस्तावेजलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको प्रवक्ता शरदराज पाठकले आज विज्ञप्ति निकालेर दाबी गरेका छन्।तर संयोजक पाण्डेले अध्यक्ष मिश्रलाई एकलौटी हिसावले केन्द्रीय समितिको बैठक राख्ने अधिकार नभएको प्रतिक्रिया दिएका छन्।
‘एकलौटी हिसावमा राखिएको गुटको बैठकले पारित गरेर हुन्न। केन्द्रीय सदस्य को कता छन् भन्ने कुरा निर्वाचन आयोग बहादुर भवन पुगेपछि मात्रै निर्क्यौल हुने विषय हो,’ संयोजक पाण्डेले भने।अध्यक्ष मिश्र पक्षले अध्यक्षलाई प्रमुख कार्यकारी भूमिकासमेत दिने निर्णय गर्दै विधान संशोधनसमेत गरेको छ। ‘अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष बैठकको थियो,’ प्रवक्ता पाठकले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने दस्तावेज ल्याएपछि संयोजक पाण्डेसहित चार नेताले पनि गणतन्त्र र संघीयतामा प्रतिवद्ध रहने अर्को दस्तावेज ल्याएका थिए।केन्द्रीय समिति बैठक एकलौटी ढंगले राख्ने अधिकार अध्यक्ष मिश्रलाई नभएकोले आफूहरूले बैठक बहिष्कार गरेको पाण्डेले बताए। अब कसरी अघि बढ्ने भन्ने निर्णय लिन पाण्डे पक्षले भोलिका लागि केन्द्रीय समितिको बैठक राखेको छ।
‘त्यो गुटको निर्णय हो,’ पाण्डेले भने, ‘भोलि हामीले केन्द्रीय समिति बैठक बोलाएका छौं। राजनीतिमा जुम मिटिङले निर्णय गर्दैन, निर्वाचन आयोगले निर्णय गर्छ। एकलौटी निर्णय गरेर मिश्रले दोस्रोपटक विवेकशील साझा पार्टी फुटाए।’विवेकशीलसँग गरिएको सम्झौतासमेत अध्यक्ष मिश्रले छाडेको संयोजक पाण्डेको दाबी छ।संविधानवाद र विगतका आन्दोलन रक्षा गर्ने भनेर एकीकरण गरे पनि अहिले उलंघन गर्दै संयुक्त नेतृत्व अध्यक्ष मिश्रले स्वीकार नगरेको संयोजक पाण्डे बताउँछन्। सेतोपाटीबाट