अब प्रधानमन्त्रीलाई विमानस्थलमा औपचारिक विदाई नगरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेश जाँदा औपचारिक कार्यक्रमसहितको तामझाम नगर्न निर्देशन दिनुभएको छ । सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन देउवाले दिनुभएको हो ।

प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक नगर्न आदेश दिएको छ । उच्च स्रोतका अनुसार आज प्रधानमन्त्रीले विमानस्थलबाट विमानतर्फ जाँदा त्यहाँको भीभीआईपी कक्ष प्रयोग गर्नु हुनेछैन ।सम्भवतः देउवा सवारी साधनमा सोझै विमानसम्म पुग्नुहुनेछ । अर्को स्रोतले भनेको छ, ‘सेनाले सलामी दिने ठाउँ भएर जानु हुनेछ, तर औपचारिक केही पनि नगर्ने भनिएको छ ।’

यसभन्दा पहिले यसरी सरकार वा राष्ट्र प्रमुख विदेश भ्रमणमा जाँदा अतिविशिष्ट कक्षमा आराम र चियापान हुन्थ्यो । त्यसपछि सलामी लिएर विमानस्थलतर्फ जाने काम गरिन्थ्यो । तर, आज बिदाईका लागि सबै जनालाई ताँती लागेर विमानस्थलमा नआउन भनिएपछि प्रधानमन्त्रीको बिदाईको सिष्टम फेरिएको हो ।

प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणको निम्ति नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणले हिजो अपरान्हसम्म सबै तयारी पूरा गरेको बताइन्छ । उसले सलामीदेखि विमानस्थलसम्मका सबै तयारी पूरा गरेपछि हिजो साँझ एकाएक कुनै पनि तयारी नगर्न आदेश आउँदा पररास्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापालको उच्च तहसमेत अचम्भित भएको थियो ।

स्रोत भन्छ, ‘अब कोही पनि सेना, प्रहरी,सरकारी अधिकारी तथा मन्त्रीहरु चिरिच्याट्ट परेर सवारी साधन हुईंकाउँदै विमानस्थल जानु नपर्ने भएको छ ।’ यसरी प्रधानमन्त्री देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमणबाट बल्ल एउटा नयाँ थालनी गर्न लागेका छन ।प्रधानमन्त्री देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP 26 मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दैछन । नोभेम्बर १ र २ का दिन उक्त सम्मेलनमा भाग लिएर उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार