
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले नमान्ने बताउनुभयो ।
शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भन्नुभयो, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’
असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उहाँको भनाइ थियो । उहाँले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो ।
‘काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु,’ उहाँले भन्नुभयो । यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन ।
जनकपुरमा मधेसको प्रतिनिधि उपेन्द्र यादवसँग आफूले सम्झौता गरेपछि मुलुकमा संविधानसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको पौडेलको भनाइ थियो । नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका भन्दै उहाँले संसदीय लोकतन्त्र नै समावेशी व्यवस्था भएको बताउनुभयो । यस्तै पौडेलले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको महाधिवेशन हुँदैछ । अब कार्यतालिकामा तलमाथि हुन सक्दैन । मंसिरको २४ र २६ मा हाम्रो पार्टीको महाधिवेशन गर्छौं । मेरो पार्टी अस्तव्यस्त छ । मेरो पार्टीलाई सुधार गर्ने लडाइमा छु । काँग्रेस व्यवस्थित भएपछि लोकतन्त्रपनि व्यवस्थित हुन्छ ।’ पौडेलले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएको भन्दै १४ औंमा पनि आफू स्वभाविक उम्मेदवार रहेको बताउनुभयो। रातोपाटीबाट