प्रदेश १ : विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने हुनुभएको हो । बैठक साढे १२ बजे बस्दै छ ।

आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने लगभग निश्चित भएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गर्नुभएको थियो। तर, नेपाली कांग्रेसभित्रको किचलो र नेकपा (एमाले)को आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।

प्रदेश १ मा गठबन्धन दलको तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश १ मा ९२ सांसदमध्ये ४१ एमाले पक्षमा छन् । त्यसमध्ये पनि एक जना सभामुख छन् । ९२ सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेस २१, माओवादी १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक गरी ५० जना सांसद विपक्षी गठबन्धनमा छन् । राप्रपाका एक सांसद छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार