केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गर्नुभएको छ । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नुभयो ‘ फुटेर जाने पार्टी सकिने भनेर वामदेव गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन ।’

‘केपी ओलीको एमालेले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौँ । तर, कति सिट ल्याउँछौँ अहिले भन्न सकिँदैन,’ उहाँले भन्नुभयो । पार्टी के मुद्दा लिएर फुटेको हो भन्ने कुरामा भर पर्ने भन्दै उनले विगतसँग वर्तमानको तुलना गर्न नमिल्ने तर्क गर्नुभयो । एमाले अध्यक्ष ओलीको कडा आलोचना गर्दै उहाँले कम्युनिस्ट आन्दोलन जोगाउन मात्रै बाध्य भएर नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतलाई फुच्चेको संज्ञा दिँदै मन्त्री खतिवडाले एक्लै तालमेल बिना चुनाव जितेर देखाउन चुनौती दिनुभयो । ‘हामीलाई मिडियाले एस पार्टी भन्छ, अब ओलीको पार्टी नो पार्टी । हामी एस पार्टी, एस भनेको राम्रो पार्टी’, उहाँले भन्नुभयो । कार्यक्रममा एकीकृत समाजवादी नेता डा.राजेन्द्रमान श्रेष्ठ, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा नेता दिपक थापालगायतले पार्टी बिस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार