
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताउनुभयो ।
नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेकाबारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताउनुभयो । व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो भन्दै उहाँले कांग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताउनुभयो ।
नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्नुभयो। सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महँगीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको नेता सिंहले टिप्पणी गर्नुभयो ।कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताउनुभयो । रासस