
जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मैथिली विकास कोषले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रदेश–२ का प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकृत र जवानलाई मेरो निर्देशन छ, उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन उहाँहरुलाई सहज बनाउने काम गर्नुहोस्।’ यस्तै उहाँले मैथिली संस्कृति मैथिली भाषीका लागि मात्र नभइ नेपालकै गहना भएको उल्लेख गर्नुभयो । ‘मैथिली भाषा, संस्कृति र संस्कार, मैथिली खाना, बजाना, लुगा, कला मैथिली भाषीका लागि मात्रै होइन् नेपालकै लागि एउटा गहना हो।’ गृहमन्त्री खाणले भन्नुभयो, ‘यो देशभरिका नेपालीहरुले गर्व गर्ने बिषय हो ।’
नेपालमा तराई-मधेश, हिमाल पहाडको संयोजन रहेको भन्दै उहाँले विभिन्न धर्म, भाषा, संस्कृति, भेषभूषा, जात र संस्कार रहेको बताउनुभयो । यो विविधतालाई संयोजन गर्नु नै नेपालीहरुका लागि श्रेयष्कर हुने भन्दै उनले आफ्नो भाषा र संस्कृतिलाई सवल बनाउँदै अर्को भाषा र संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले मैथिली भाषाको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अनलाइनखबरबाट