गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि

काठमाडौँ । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गर्नुभएको हो।

तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै देखिएको छ । गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक समन्वय समिति सरकारभन्दा माथि रहन खोजेको आरोप लगाउनुभयो ।

संविधानअनुसार समितिको औचित्य नरहेको बताएका उहाँले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन आवश्यक नरहेको पनि जिकीर गर्नुभयो। संविधान र प्रजातान्त्रिक विधिविपरीत संयन्त्र बनाउन नहुनेमा जोड दिएका नेता सिंहले भन्नुभयो, ‘अहिलेको सरकार गठबन्धनको हो । राज्यसत्ता सरकारले चलाउने हो । तर, समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छैन ।’

सरकारलाई नियन्त्रणमा राख्ने गरी संयन्त्र बनाउन नहुने बताएका उहाँले भन्नुभयो, ‘ उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन ।’

तर, उहाँको आरोपलाई खण्डन हुने गरी यसअघि नै मंगलबार राजनीतिक समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिव्यक्ति दिनुभएको थियो । उहाँले समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र नगरेको बताउनुभएको थियो ।वर्तमान राजनीतिक व्यवस्थालाई र लोकतन्त्रलाई सुनिश्चित गर्न समन्वयका लागि काम गर्न समिति बनाइएको र सोहीअनुसार काम गरेको नेता पौडेलको दाबी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार