
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ९ वटा इजलास तोकेका छन् ।नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्यलाई पत्र लेख्दै प्रधानन्यायाधीश जबराले बोलाएको बैठकमा नजान आग्रह गरे पनि ९ वटा इजलास गठन गरेका हुन् । उनले १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका छन् ।
न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खड्का र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ वटा मुद्दाको पेसी तोकेका छन् ।
यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ७ वटा मुद्दाको पेसी तोकेका छन् ।जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाँका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसारलगायतका मुद्दाको पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा बागबन्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको छ ।जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौँ उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदै छ । नागरिक खबरबाट