धार्मिक पर्यटनका लागि शिव परिपथको विकास आवश्यक : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउनुभएको छ ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासले आयोजना गरेको ६ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै उनले यस्तो बताउनुभएको हो । उजले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको पनि बताउनुभयो ।

उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभयो। पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवर्द्धनमा मन्त्री आलेले जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले र्‍यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त र्‍याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्ने बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार