
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दस वटा इजलासमा पेसी तोकेका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुइटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन।
यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् । यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीच–बीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। रासस