नेकपा एसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले मागे मन्त्री यादवको राजीनामा

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । त्यसका लागि उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले काठमाडौँ जानुअघि आइतबार यादवलाई निवासमा बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग गरिदिन आग्रह गर्नुभएको हो । मन्त्री यादवले राजीनामा गरेमा संसदीय दलका नेता सत्रुधन महतोको नेतृत्वमा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने छ ।

समाजवादीले दुईवटा मन्त्रालय पाउनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय समाजवादीले पाउने छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दलका नेता महतो र अर्को मन्त्रालयमा सर्लाहीकी बेची लुंगेलीको नाम चर्चामा रहेको समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताउनुभयो ।

मुख्यमन्त्री राउतले खाली रहेका दुई मन्त्रालय कानुन तथा प्रदेश मामिला मन्त्रालय र वाणिज्य आपूर्ति मन्त्रालय दिएर नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका थिए । तर, समाजवादीले भाइटल मन्त्रालय दिएमा मात्रै जाने अडान लिएपछि सरकार विस्तार रोकिएको थियो । अहिले प्रदेश सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र सहभागी छन् ।

मुख्यमन्त्री राउतले राजीनामा मागेपछि मन्त्री यादवले असन्तुष्टि जनाएका छन् । मन्त्री यादवले दलीय गठबन्धनलाई पूर्णता दिन मुख्यमन्त्रीसहित सरकार पुनःगठन हुनुपर्ने बताउनुभएको छ । ‘मन्त्रीको राजीनामा मागने अधिकार मुख्यमन्त्रीसँग भए पनि मुख्यमन्त्रीलाई पनि पार्टीले नै बनाएकाले पार्टीको वैधानिक समितिबाट राजीनामाको निर्णय हुनुपर्छ,’ मन्त्री यादवले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार