
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालतको प्रांगण रणभूमिसरह भएको बताउनुभएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले देशभर आन्दोलन चर्काएका बेला वरिष्ठ अधिवक्ता ढुंगानाले
सरकार, राजनीतिक दल र मानव अधिकार आयोगसमेत मौन बस्दा अदालत प्रांगण रणभूमि बनेको बताउनुभएको हो । उहाँले सरकार र राजनीतिक दलहरुहरुको मौनताकै कारण प्रधानन्यायाधीश जबरा ढुक्क देखिएको बताउनुभएको छ । ‘सरकार हस्तक्षेप गर्दैन, सुरक्षा दस्तामात्र पठाउँछ, ’ मंगलबार ट्वीटमार्फत् ढुंगानाले भन्नुभएको छ , ‘सर्वोच्च अदालतको प्रांगण रणभुमिसरह भइसक्यो ।’
उहाँले अदालतको विवादबारे राष्ट्रिय मानवअधिकार आयोगसमेत मौन बसेको आरोप लगाउनुभएको छ । ‘मानव अधिकार आयोगको बोली फुट्दैन । उसका मुद्दा पनि त्यहाँ छन्, ’ उहाँले लेख्नुभएको छ, ‘प्रधानन्यायाधीश पनि कम ढुक्क हो र ? यो कृतज्ञ सरकार र गठबन्धन महाभियोग जान्दैन ।’ ekantipurबाट