
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को १९ र २० औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो।
उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं। बस चलाउन सक्दछौं । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। हामी नेपालभरि नै विस्तार गरी यता जानुपर्छ जस्तो लाग्छ मलाई।
त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौं। काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडी सञ्चालन गरौं। घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाऊँ। भोलि तराई, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौं भने नेपाल नमूना बन्न सक्दछ। उद्योगपतिहरूलाई के भन्न चाहन्छु भने, तपाईंहरू सुरू गर्नुस्। सरकारले इन्सेन्टिभ दिन्छ। अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन्। त्यो पनि भएन नि। काम पनि गर्नुपर्यो। तपाईंहरूलाई हामी सारा सहुलियत दिन तयार छौं। तपाईंहरू ब्याट्रीमा जानुस्। नेपाललाई नमूना देश बनाउन सक्यौं भने हामीले लिडिङ रोल लिन सक्छौं।’
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभयो।निजी क्षेत्रलाई विद्युत व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उहाँले आग्रह गर्नुभयो।उहाँले भन्नुभयो,‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरू उठिरहेको छ।
यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधान नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी बिक्री गर्न सक्छौं भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौं।’मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताउनुभयो। विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ। सेतोपाटीबाट