
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट हुने गलत क्रियाकलापको संरक्षण नगर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई चेतावनी दिनुभएको छ ।
पूर्ण बैठकका क्रममा केही न्यायाधीशहरूले मुख्य रजिष्ट्रार कुँवरलाई बोलाएर कानून व्यवसायीहरूको शान्तिपुर्ण प्रदर्शमा बल प्रयोगको घटनाले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश भएको भन्दै संयमता अपनाउन सुझाव दिनुभएको हो ।
‘कि त मूलगेटसम्म नै आउन दिनु हुदैनथ्यो । आउन दिएपछि माथिपट्टकिो अर्को गेटसम्म जान दिँदा के बिग्रन्छ’ असन्तुष्ट न्यायाधीशहरूको भनाई उदृत गर्दै सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो विषम परिस्थिति छ भनेपछि प्रधानन्यायधीशलाई पनि कि बिहानै आउन भन्नुहोस, कि दिउँसो शान्त भएपछि बोलाए पनि हुन्छ ।’
मुख्य रजिष्ट्रारमार्फत न्यायाधीशहरूले कानून व्यवसायीहरूको प्रदर्शनसामु हठ देखाएर त्यही समयमा साइरन बजाएर सर्वोच्च अदालत प्रवेश गर्नुपर्ने स्वभाव देखाएका प्रधानन्यायाधीश जबरालाई झडप र मुठभेड नहुने परिस्थितिमा लाग्न सुझाव दिएका थिए ।सर्वोच्च अदालतभित्र तैनाथ सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न नसकेपछि सर्वोच्च अदालत प्रशासनले बाहिरबाट सुरक्षाकर्मी मगाउने गरेको छ ।
गृहप्रशासनको निर्देशनका कारण प्रहरीले अदालत परिसरभित्र प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूलाई पक्राउ नगर्ने तर घेराबन्दी गरेको क्षेत्रमा जान नदिन बल प्रयोग गर्ने रणनीति लिएको छ ।अदालतभित्रै कानून व्यवसायीहरूको धर्नामाथिको बलप्रयोग र घम्साघम्सीले नराम्रो सन्देश गएको भन्दै न्यायाधीशहरूले अदालत परिसरभित्र दंगा नियन्त्रणका उपकरणसहितको प्रवेशले लज्जाबोध भएको भन्दै आक्रोश पोखेका थिए ।
उनीहरूले पूर्ण बैठकमा नै सर्वोच्च अदालतभित्र बल प्रयोगका क्रममा एकजना सुरक्षाकर्मी र केही कानून व्यवसायीहरू घाइते भएको घटनामा दुःख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् । अनलाइनखबरबाट