हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्या समाधान हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनुभएको हो ।

उहाँले नेपाली हस्तकलालाई आधुनिक फेसनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा यस्तै महत्वपूर्ण उपलब्धीहरु हुन सक्छन् । हामीले हस्तकलालाई अझ विकास गर्न सक्यौ, कहिलेकाहीँ के हुन्छ भने आधुनिक फेसनसँग मिल्नेपनि बनाउनुपर्ने हुन्छ । त्यसकारण त्यस्तै किसिमका कपडाहरु, फेशनसँग म्याच खाने कपडाहरू बनाउन सक्नुभयो भने त्यसले आकर्षण बढ्नेछ भने त्यस्तै कलापनि नेपाल भरी नै वृद्धि हुन सक्छ । एयरपोर्टहरुमा, यस्तो ठाउँमा राख्नसक्नुभए राम्रो हुनेछ । यसको लागि ट्याक्ससम्बन्धी समस्याहरु छन्, त्यसलाई हामी निराकरण गर्दै सहजीकरण गर्ने विश्वास दिलाउँछौ ।’

प्रधानमन्त्री देउवाले हस्तकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताउनुभयो ।

मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मूल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताउनुभयो । आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उहाँले जानकारी दिनुभयो । १८ औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार