पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकार गम्भीर हुनुपर्‍यो, मन्त्री नपाए हामी दिन तयार छौं : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।आईतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो।

‘समस्याको कारण पनि खोज्नु पर्‍यो समाधान पनि निकाल्नु पर्‍यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्‍यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्‍यो । यो हाम्रो दायित्व भित्र पनि पर्छ’, अध्यक्ष नेपालले भन्नुभयो।उहाँले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताउनुभयो।

‘एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ। मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैंले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन्। त्यसको निम्ति हामीले भनिरहेका छौं, अरू कोही नपाइए हामी छँदै छौं नि मन्त्री दिने भनिरहेका छौँ। सुन्दैनन्’, नेता नेपालले भन्नुभयो। उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताउनुभयो।

‘यसको पछाडि राजनीतिक कारण होला, जनतालाई पीडामा वेदनामा पुर्‍याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन। बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरु खोज्नुपर्द। जनतालाई रोजगारी प्रदान गर्ने बारेमा वृहत योजनाको खाँचो छ,’ अध्यक्ष नेपालले भन्नुभयो। अध्यक्ष नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताउनुभयो।

अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताउनुभयो। ‘सरकारले पनि बरू करको दायरा घटाउनु पर्‍यो । जतासँग प्रत्यक्ष जोडिएका कुरामा मार पार्नुभएन । ग्यासमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको । म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनेछु।’

अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताउनुभयो । उहाँले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताउनुभयो। ‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनु पर्ने हो, मैले पनि बुझिरहेको छैन, किन महंगो भइरहेको छ, हिजो कति खर्च हुने गर्दथ्यो ? त्यसमा ढुवानी कस्टका कुरादेखि लिएर जति तेल भरिएको छ, त्यो यहाँ आउँदा बिचैमा चोरिने त्यसले हुने गरेको जुन नोक्शानी कति भएको छ, त्यो हिसावकिताव हुन्छ कि हुँदैन ?’,

नेता नेपालले भन्नुभयो, ‘यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायमा म पनि बुझौँला। यसको निम्ति हामी पनि छलफल गर्नेछौँ। सरकारलाई भन्ने छौँ।’अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनुपर्ने बताउनुभयो । उहाँले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनग, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताउनुभयो।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार