
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने हुनुभएको छ । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रुपमा चुनाव लड्ने हुनुभएको हो । देउवाले मन्जुरीनामा मार्फत उम्मेद्वारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुरा जिल्ला सभापति पदका उम्मेद्वार भीमबहादुर साउदले जानकारी दिनुभयो ।
कांग्रेसको विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडाएर ल्याउने गरिँदै आएको थियो ।
‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि लडाउछौं । उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । तर हामीले प्रत्येक महाधिवेशनमा उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौं । भाउजू (देउवा पत्नी आरजु राणा) लाई पनि डडेल्धुराबाटै लडाउने भएका छौं ।’ उहाँले भन्नुभयो ।
त्यस्तै गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डडेल्धुराको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न हुँदैछ । डडेल्धुरा पुरै झिलिमिली पारिएको छ । जिल्ला अधिवेशनका लागि मान्छेहरु हिजै आइसकेका छन् । एउटा ऐतिहासिक पर्वका रुपमा अधिवेशन सम्पन्न गर्दै छौं ।’
डडेल्धुरामा आज जिल्ला अधिवेशन पनि हुँदै छ । साउदका अनुसार ११ बजे उम्मेदवारी दर्ता हुने छ भने एक बजेपछि मतदान सुरु हुने छ । यता वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने जिल्लामा सबै तहको अधिवेशन बहिस्कार गरेको छ । मल्ल समूह मंसिर एक गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा बसेको छ । नागरिक खबरबाट