
काठमाडौँ । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यसपटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने बताउनुभयो ।
‘केन्द्रीय समिति सदस्य पदमा उठ्न मैले आज गृहनगरबाटै यात्रा थालेँ,’ महरले भन्नुभयो । उहाँले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने बताउनुभयो । उहाँले पार्टी रूपान्तरणको प्रयास सुरू गरिनुपर्ने पनि बताउनुभयो । साथै उहाँले गुटको अन्त्य हुनुपर्ने पनि बताउनुभएको छ ।
उहाँले पार्टीका सबै संरचनामा एक व्यक्ति एक पद र दुई कार्यकालमात्रै लागू गरिनुपर्ने एजेन्डा अगाडि सार्नुभएको छ । उहाँले शिक्षा र स्वास्थ्य सबैका लागि निस्शुल्क हुनुपर्नेसमेत एजेन्डा राख्नुभएको छ । उहाँले क्रियाशील सदस्यता वितरणमा गुटको प्रभाव देखिने गरेकोमा यसपटक त्यो क्रम कम गर्दै लगिएको पनि बताउनुभयो।
क्रियाशील सदस्यता वितरणमै गुटरहित बनाएपछि मात्रै केन्द्रमा गुट नहुने उहाँको भनाइ छ । महर २०७३ भदौमा नेविसंघ अध्यक्ष निर्वाचित हुनुभएको थियो। कार्यकाल सकिएपछि महरले नेविसंघ अध्यक्षबाट राजीनामा दिनुभएको थियो । त्यसपछि महाधिवेशन भएको छैन। नेविसंघ तदर्थ समितिमै सीमित छ। सेतोपाटीबाट