
काठमाडौँ । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तर्विरोध नरहेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो । उहाँले एमालेभित्र कुनै पनि प्रकारको विवाद र अन्तर्विरोध नरहेको स्पष्ट पार्नुभयो ।
महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिँदैछ । जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भीरतासाथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमा भित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ ।
यसतर्फ हामी अत्यन्त गम्भीर हुन्छौँ । एमालेभित्र विवाद, अन्तर्विरोध छैन । एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, समझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरूमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरूमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरूलाई पुरा गर्ने, सशक्त, एकताबद्ध पार्टी निर्माण गर्ने गरी नै हामी भूमिका खेल्छौँ । यो महाधिवेशनमा कुनै पनि प्रकारको त्यस्तो किचलो, समस्या हुँदैन ।’
एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । एमालेलाई गुटरहित र प्यानलरहित बनाउने गरी अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिँदैनौँ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्ने गरी नै हामी अगाडी बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि हामी अगाडी बढ्छौँ ।’
त्यसैगरी नेकपा(एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गर्नुभयो । जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमति भनेको पनि ठुलो प्रक्रिया हो । हामी सहमतिकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसङ्ख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू सहमतिको पक्षमा हुनुहुन्छ ।
जुन साथीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरू आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकि जुन प्रतिनिधिको भरमा उहाँहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरूले फिर्ता लिनुहुन्छ । हामी सबै नेतृत्वमा बस्नेहरूलाई विश्वास छ ।’ उहाँले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैन कि भनेर शंका गर्ने ठाउँ नरहेको बताउनुभयो। केही नेताहरूले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ । रातोपाटीबाट