राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौँ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाउनुभएको छ । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताउनुभएको हो ।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उहाँको सुझाव थियो ।

उहाँले न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल तथा आपसमा समझदारी गरेरै निकाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरू कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”

समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुने गरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार