
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं महाधिवेशन बिहीवारबाट चितवनमा हुँदैछ । यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले गत असोजमा संशोधित विधान अनुसार १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानल बनाएर चुनाव लड्न नपाइने बनाएको छ । त्यसैले अब हुने चुनावमा प्यानलगतरूपमा प्रतिस्पर्धा हुनेछैन । प्यानलगत चुनावले पार्टी विभाजन गराएको बिगतको अनुभवका आधारमा एमालेले यस्तो व्यवस्था गरेको हो ।
विधान अनुसार पाार्टीको केन्द्रीय कमिटी सदस्य विभिन्न ‘क्लष्टर’ का आधारमा चयन हुनेछन । नेपालको संविधानबमोजिम अब एमाले केन्द्रीय कमिटीमा महिला, आदिवासी जनजाती, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र र भौगोलिक क्षेत्र गरि ९ ‘क्लष्टर’ रहेका छन ।
नेकपा एमालेको केन्द्रीय कमिटीमा अब कम्तीमा एक तिहाइ महिलाको अनिवार्य उपस्थिति हुनेछ । जसअनुसार समावेशी क्षेत्रबाट ५७ र भौगोलिक क्षेत्रबाट १६ गरि ७३ जना महिलाको उपस्थिति अनिवार्यरुपमा एमाले केन्द्रीय कमिटीमा हुनेछ ।
त्यस्तै आदिवासी जनजातीबाट २२, मधेशीबाट १६, थारुबाट ६, मुस्लिमबाट ४, श्रमिकबाट ५ र पिछडिएको क्षेत्रबाट ३ केन्द्रीय सदस्य चयन हुने छन् । भौगोलिक क्षेत्रअन्तर्गत पनि ७ प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटीबाट पनि केन्द्रीय सदस्य चुनिने व्यवस्था नेकपा एमालेको विधानले गरेको छ । नागरिक खबरबाट