अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : दाहाल

धनगढी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्याले केही दिनभित्रै समाधान हुने बताउनुभएको छ । उहाँले सर्वोच्च अदालत जस्ता गरिमामय संस्थामा समस्या देखिनु राम्रो नभएकोले छिटो भन्दा छिटो समाधान हुनु पर्ने बताउनुभएको छ।

बुधबार कैलाली विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सकभर अदालत आफैंले समस्या समाधान गर्नु पर्ने सरकारमा रहेका गठबन्धन दलहरूको सोच रहेको बताउँदै उहाँले सम्भव नभए गठबन्धनको बैठक बसेर यसबारे के गर्ने भन्ने छलफल गरेर निकासका लागि पहल गरिने बताउनुभयो । ‘सर्वोच्चको समस्या ठूलो समस्या हुन्छ भन्ने लागेको छैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताउनुभयो । ‘अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन,’ उहाँले भन्नुभयो, ‘छलफल गम्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’

उहाँले यतिबेला राजनैतिक दलहरू अधिवेशन र सम्मेलनमा व्यस्त नभएको भए सबै दलहरूकाबीच यसबारे व्यापक छलफल हुने थियो, दलहरूको व्यस्तता सकिएपछि व्यापक रुपमा छलफल गरेर अगाडि बढने गठबन्धनमा छलफल भएको छ ।’ एमसीसीकै बारेमा अध्यक्ष दाहालले गठबन्धनभित्र सुरुमा भएको ओरिजनल सहमति तिर जाने कि भन्ने चर्चा पनि भएको छ ।

तर जनतामा व्यापक रुपमा चासो उठेको विषयमा दलहरू भित्र मात्र होइन, सञ्चारक्षेत्र, नागरिक समाज सवै प्रमुख दलहरूका बीचमा छलफल चलाएर अघि बढने गठबन्धनमा छलफल भएको उहाँले बताउनुभयो । ‘एमसीसीका सम्बन्धमा लुकीछिपि केही हुँदैन,’ उहाँले भन्नुभयो । अध्यक्ष दाहालले गठबन्धन दलको संयन्त्र बनाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको भएपनि यो संयन्त्र सरकार भन्दा माथि नभएको र गठबन्धनदलका बीच आपसी समझदारी बलियो बनाउन बनाइएको दाबी गर्नुभयो ।

उहाँले संयन्त्र बनेपछि गठबन्धन सरकारलाई आउने चुनावसमम लैजाने बाटो क्लियर भएको बताउनुभयो । सरकारबारे भ्रम फैलाने अवस्था अन्त्य भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले आगामी निर्वाचनका सम्बन्धमा तीनै तहको एकैपटक गर्नै वा पहिले संघीय संसदको निर्वाचन गरेर पछि स्थानीय तहको गर्ने वा स्थानीय निर्वाचनपछि अन्य निर्वाचन गर्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो । कैलालीको भजनी नगरपालिका लगायतका ठाउँमा हुने कार्यक्रमका लागि धनगढी आइपुगेका दाहालले प्रदेश सरकारबारेमा कुनै कुरा नउठेको बताउनुभयो । ‘अहिले सरकार यताउता गर्ने चर्चा चलेको छैन,’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार