एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल

काठमाडौँ । गैरआवसीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको छ ।

उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताउनुभएको हो । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ,’मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल भइरहेको छ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उहाँले बताउनुभयो।

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताउनुभयो। ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौं,’उहाँले भन्नुभयो,‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ। पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔं,त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ।’ पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भने झैं डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए। त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै,उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने,भन्सारको अधिकृत भनेपछि आयातकर्ता यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउनुपर्ने बताउनुभयो। त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्र अनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उहाँले बताउनुभयो।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनैतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताउनुभयो।यसैबीच, मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो।

मंगलबार नै राष्ट्र बैंकको कामकारबाही बारे संक्षिप्त जानकारी लिँदै उहाँले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्नेबारे छफलफल भइरहेको बताउनुभयो। ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ,’ मन्त्री शर्माले भन्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार