कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

बुटवल । बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् । कक्षा १२ मा अध्ययनरत सागर सिभिल इन्जिनियरका विद्यार्थी हुन् ।

कक्षा ११ को परीक्षापछिको समय सदुपयोग गर्दै विद्युतीय मोटरसाइकल बनाएको र त्यसका लागि करिब दुई महिना समय लागेको सागरले बताए । मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । जुन करिब ४८ भोल्ट डीसी पावरको छ । त्यसमा विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङलगायत प्रयोग गरी ७ सय ५० वाटको इलेक्ट्रिक मोटर प्रयोग भएको छ । हाल १ सय किलोमिटरसम्मको दूरी गुड्न सक्छ । प्रतिघण्टा ४० किलोमिटर गति छ ।

उनले हजुरबुबा मोतीलाल, बुबा अनन्तमणि, आफू सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबी मोटरसाइकल नामकरण गरेको बताए । मोटरसाइकल निर्माणमा करिब १ लाख १० हजार रुपैयाँ खर्च भएको छ । जुन, गत सोमबार विद्यालय परिसरमा प्रदर्शन गरिएको थियो । ‘रकम र सामग्री हुने हो भने यही प्रविधि प्रयोग गरेर धेरै मोटरसाइकल बनाउन सकिनेछ,’ सागरले भने, ‘लगाव र मिहिनेत हुने हो भने काम गर्न अप्ठेरो हुँदैन ।’

सागरले बनाएको मोटरसाइकलबारे नेपाल आविष्कार केन्द्रले चासो राखेको छ । केन्द्रले उक्त मोटरसाइकल परीक्षण गर्नेछ । सागर आउँदो साता काठमाडौं जाने र यही बाइक गुडाउने योजनामा छन् । ‘व्यावसायिक रूपमा मोटरसाइकल बनाउने योजना छ,’ उनले भने, ‘राज्यको साथ र सहयोग भए यो सम्भव छ ।’ सागरको घर अर्घाखाँचीको सन्धिखर्क हो ।

घरमा बसेकै बेला मोटरसाइकल बनाउने र परीक्षण गर्ने काम सकेका थिए । सन्धिखर्कमा परीक्षण सञ्चालन गरेपछि मात्रै मोटरसाइकल विद्यालयमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिले ५१ हजार रुपैयाँबाट सागरलाई सम्मान गरेको छ । उनको मोटरसाइकलको वैज्ञानिक परीक्षणदेखिका काममा समेत विद्यालयले सघाउने विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार