
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताउनुभएको छ । एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’ सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराउनुभयो ।
संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि देउवाले बताउनुभयो। ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो । फरक–फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
‘देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक छ,’ उहाँले भन्नुभयो । जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान थियो । ekantipurबाट