
रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले न्यायालयमा देखिएको विवादका सम्बन्धमा छिट्टै छलफल हुने बताउनुभएको छ । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले छिटै यस विषयमा छलफल हुने एउटा निष्कर्षमा पुग्ने मन्त्री शर्माको भनाई छ ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्रधानन्यायाधीशका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नै सरकारको धारणा भएको बताउनुभयो । ‘केही समयमै प्रधानन्यायाधीशका विषयमा छलफल गर्ने प्रधानमन्त्रीले भन्नुभएकै छ,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘यसमा सरकारले ध्यान दिएको छैन भन्ने होइन ।’
न्यायालयमा देखिएको विवादबारे गठबन्धन दलमा पनि छलफल हुने उहाँको भनाई थियो । सबै राजनीतिक दल आआफ्नो पार्टीका कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले पनि केही ढिला हुनसक्ने उहाँले बताउनुभयो । नेताहरुबीच एक चरणमा छलफल भइसकेको र दलहरु छिटै निचोडमा पुग्ने उहाँले बताउनुभयो । गठबन्धनमा रहेका दल र प्रधानमन्त्रीले यस विषयमा बैठक गर्ने र त्यसबाट एउटा निर्णय हुने उहाँले बताउनुभयो ।
बैठक कहिले हुन्छ भन्ने विषयमा भने उहाँले केही बताउनुभएन् । यस विषयमा प्रधानमन्त्रीलाई आफूहरुले सुझाव दिइसकेको भन्दै उहाँले यस विषयमा आफ्नो व्यक्तिगत धारणा केही नभएको बताउनुभयो । प्रधानमन्त्रीकै धारणा आफूहरुको धारणा भएको उहाँले दोहोर्याउनुभयो । ekantipurबाट