
चितवन । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताउनुभयो । उहाँले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिनुभयो । ‘सहमतिका लागि प्रयास जारी छ,’ उहाँले भन्नुभयो, ‘अध्यक्ष पदबाहेक अन्यमा लगभग सहमति जुटिसकेको छ ।’
अध्यक्ष पदका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयनका लागि आइतबार बिहानैदेखि पार्टीका विभिन्न नेतासँग छलफल गरिरहनुभएको छ । उहाँले सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले भने निर्वाचनमै जोड दिँदै आइरनुभएको छ । ओलीले रावलसँग पनि भेट गरी सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।