ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण छैनः बाइडेन

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट डराउनु पर्ने कुनै कारण नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएकोे छ । उहाँले सोमबार ह्वाइटहाउसमा बोल्दै ओमिक्रोन भेरियन्टबाट डराइहाल्नु नपर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

उहाँले यो विषय चिन्ताको विषय भएपनि डराइ हाल्नु पर्ने अवस्था नभएको बताउनुभएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोप नलगाएकालाई तत्काल खोप लगाउन पनि आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले खोपको पूर्ण डोज लगाएका तत्काल बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ ।उहाँले प्रमुख खोप निर्मातासँग अमेरिकाका स्वास्थ्य अधिकारीहरुले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको बाइडेनले जानकारी दिनुभयो ।

उहाँले अमेरिकामा लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा रहेको पनि बताउनुभयो।अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरुलाई खोप लगाउने समय दिनको लागि यसो गरिएको अमेरिकाले प्रष्ट पारेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार