राजनीतिलाई ‘मेवा’ खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बन्यो : सिंह

काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई ‘मेवा’ खाने बाटोको रुपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताउनुभएको छ ।

‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहरुले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भन्नुभयो, ‘अहिले लोभ–लालचमा नफसीकन, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ ।’

कांग्रेस नेता लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताउनुभयो । ‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनसक्नु पर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उहाँले भन्नुभयो ।

उहाँले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गर्नुभयो । ‘कांग्रेस ०४६ सालसम्म भ्यालुलेस पोलिटिक्समा थियो । ०४६ को जनआन्दोलनपछि कांग्रेसमा सत्ता र शक्तिको राजनीति सुरू भयो । त्यसयता पार्टीं र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन्,’ सिंहले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्छ ।’

नेपालमा राजनीतिक दलहरू संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको उहाँको भनाइ छ । ‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्‍याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामू पुर्‍याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार