
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताउनुभएको छ । देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने उहाँको भनाइ छ ।
भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उहाँले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने बताउनुभएको हो । ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ,’ प्रचण्डले भन्नुभयो, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’
पूर्ववर्ती वक्ता नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएपछि यसको जबाफ दिँदै प्रचण्डले भन्नुभयो, ‘हिजो उहाँ (सिपी) राजतन्त्रविरुद्ध लाग्नुभयो, माओवादी नेताको टाउको काट्नुपर्छ भन्नुभयो । अहिले त राजाको तारिफ गर्नुभयो । उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो ।’ नागरिक खबरबाट