केन्द्रीय सदस्यका आकांक्षीकै नाम महाधिवेशन प्रतिनिधिको सूचीबाट गायव !

काठमाडौँ । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको सन्दर्भमा महाधिवेशन प्रतिनिधिको विषयमा विवाद चर्किएको छ । जिल्लाबाट सिफारिस भएर आएका महाधिवेशन प्रतिनिधिको सूचीमा केन्द्रीय सचिवालयबाट हेरफेर भएको भन्दै विवाद चर्किएको हो ।

राप्रपाको महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षीले नै आफ्नो नाम प्रतिनिधिबाटै काटिएको गुनासो गरेका छन् । गएको प्रतिनिधिसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका ओम प्रकाश आजादले आफ्नो नाम महाधिवेशन प्रतिनिधिबाट काट्ने काम भएको भन्दै आक्रोश पोखे । ‘म केन्द्रीय सदस्यको उम्मेदवारीको लागि तयारी गरिरहेको थिएँ, तर जिल्लाबाट सिफारिस भएको नाम काटेर केन्द्रले अर्कैलाई प्रतिनिधि बनाएको भेटियो’, उनले  भने, ‘चुनावमा व्यापक धाँधली हुन खोजिरहेको छ । धेरै साथीहरुले नाम नरहेको भनिरहनु भएको छ ।’

बाँकेका नरेन्द्र कुमार पौडेललगायतको नाम पनि प्रतिनिधिको सूचीबाट हटाइएको आजादले बताए । यो समस्या बाँकेमा मात्रै नभएर काठमाडौं, ललितपुरसहित एक दर्जन हाराहारीका जिल्लामा देखिएको राप्रपा नेता सुन्दर पाण्डेले बताए । अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन पक्षले पुनः नेतृत्वमा दोहोरिने बताएका कमल थापा पक्षले पार्टी कार्यालय कब्जामा लिएर प्रतिनिधिको सूची हेरफेर गरेको आरोप लगाउँदै आएको छ । लिङ्देन पक्षधरले प्रतिनिधिको विवाद समाधान गरेर मात्रै चुनावमा जानुपर्ने अडान लिँदै आएको छ ।

नेता पाण्डेका अनुसार विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने विषयमा छलफल भइरहेको बताए । केन्द्रीय सचिवालयमा आएको प्रतिनिधिको कतिपय सूचीलाई संस्थापनले आफू अनुकूल परिवर्तन गरेको भन्दै बुधबार राति राजेन्द्र लिङ्देन समूहले पार्टी कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेको थियो । राप्रपाको महाधिवेशनबाट अध्यक्षसहित १९९ जनाको केन्द्रीय कमिटी चयन हुनेछ । जसमा निर्वाचनमार्फत १४९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ भने बाँकी पछि मनोनित हुनेछन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार