गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाउन सरकारले चाहेन : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउन सरकारले वेवास्ता गरेको बताउनुभएको छ ।

एसियाली विकास बैंकले विमानस्थलको दोस्रो चरणको कामको लागि ऋण सम्झौता गर्न तयार रहे पनि सरकारले काम अगाडि बढाउन नचाहेको पौडेलको आरोप छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव समारोहमा बोल्दै पौडेलले विमानस्थलको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेकोले दोस्रो चरणको काम अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो।

‘विमानस्थलको पहिलो फेजको काम अन्तिम चरणमा पुगेको छ, पहिलो चरणको कामको उद्घाटन र दोस्रो चरणको कामको शिलान्यास एकैपटक गर्ने भनिए पनि सरकारले दोस्रो चरणको काम अगाडि बढाउन ध्यान दिएको छैन,’ उहाँले भन्नुभयो। पौडेलले दोस्रो चरणमा टर्मिनल भवन सहितका अन्य पूर्वाधार निर्माणका लागि यसअघि नै ५ सय बिघा जग्गा अधिग्रहण भइसकेको उल्लेख गर्दै सरकारलाई एसियाली विकास बैंकसँग सम्झौता गरेर काम अगाडि बढाउन आग्रह गर्नुभयो।

दोस्रो चरणको टर्मिनल भवनका लागि १४ अर्बको गुरूयोजना बनिसकेको उनको भनाइ छ।पूर्वअर्थमन्त्री पौडेलले लुम्बिनीको गुरूयोजना कार्यान्वयनमा पनि सरकारले वेवास्ता गर्ने गरेको बताउनुभयो । आफू अर्थमन्त्री हुँदा नै यसअघिको सरकारले गुरूयोजनाको बाँकी काम सम्पन्न गर्न ७ अर्ब ३३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको उहाँले बताउनुभयो।

सरकारले उक्त रकमको सही सदुपयोग गरेर गुरूयोजनाको कार्यान्वयन गर्नेतर्फ पनि चासो नदिएको उहाँले दाबी गर्नुभयो । संसारका गुरूयोजनाहरूमध्ये लुम्बिनी गुरूयोजना सबभन्दा उत्कृष्ट भएको उल्लेख गर्दै गुरूयोजना सम्पन्न हुँदा लुम्बिनीको मात्र नभई मुलुकको समृद्धिका लागि साधक बन्ने पौडेलको भनाइ छ।

पौडेलले लुम्बिनीमात्र नभई लुम्बिनी बुद्धसँग जोडिएका तिलौराकोट, देवदह, रामग्राम समेतलाई जोडेर बृहत् लुम्बिनी गुरूयोजना निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले लुम्बिनी संसारका करोडौं बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएको उल्लेख गर्दै लुम्बिनीको बारेमा भारतले फैलाउने गरेको भ्रमप्रति आपत्ति प्रकट गर्नुभयो।‘संसारमा अरू हरेक कुरामा चमत्कार गर्न सकिएला, तर गौतमबुद्ध र बुद्धजन्मस्थल लुम्बिनी अर्को बनाउन सकिँदैन,’ उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार