‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ साथी प्रहरी नियन्त्रणमा

दाङ । साथीको जन्मोत्सव मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्युपछि १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा पुगेका थिए। एसपीका अनुसार पौडेलको टाउकोमा चोट लागेको थियो । मृत्यु शंकास्पद लागेकोले पौडेलका परिवारले जाहेरी दिएका थिए । सोही आधारमा उनका १२ साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

‘पौडेल बेहोस भएपछि त्यो कुरा समयमै प्रहरीलाई खबर भएन र बिहीबार दिउँसो २ बजेमात्रै बुटवल उपचार गर्न भनेर लगिएको रहेछ,’ एसपी काफ्लेले भन्नुभयो, ‘उपचारका क्रममा अचेत अवस्थामै पौडेलको बुटवलमा मृत्यु भएको भन्ने छ।’घटनापछि पौडेलका घर परिवारले उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई नियन्त्रणमा लिनु परेको एसपी काफ्लेले बताउनुभयो। नियन्त्रणमा लिइएका युवाले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएको स्रोतले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार