एमालेले संसद्को अवरोध जारी राख्ने ओलीको संकेत

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत गर्नुभएको छ । सरकारले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन बोलाएको छ ।

उहाँले दोस्रोपटक अध्यक्षका लागि पदवहाली गर्दै एमालेले कारबाही गरेरका व्यक्तिहरुलाई संसद्‌मा स्वीकार्न नसकिने बताउनुभयो । ‘हामीले निष्कासन गरेको व्यक्तिहरु संसद्‌भित्र राखेर कसरी संसद् चल्न सक्छ ?’ ओलीले प्रश्न गर्दै भन्नुभयो । उनीहरु पुनः संसद्‌मा छिरे स्वीकार्न नसकिने उद्घोष गर्दै ओलीले थप्नुभयो,’हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसद्‌मा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ ।’गत साउन २३ गतेदेखि बोलाइएको संसद् अधिवेशन एमालेको अवरोधकै बीच अधिवेशन अन्त्य गरिएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध अनुचित गठबन्धन गरेको उहाँको भनाइ छ । ‘सभामुखजी गठबन्धन गरेर लाग्नुभएको छ । एमालेविरुद्ध लाग्नुभयो । अवैध ढंगले पार्टी फुटाउन लाग्नुभयो,’ ओलीले भन्नुभयो। ओलीले राष्ट्रिय राजनीतिको गतिरोधलाई हटाएर अघि बढ्ने भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम नगरेको आरोप लगाउनुभयो । उहाँले सरकार चल्न सक्ने अवस्था नभएको भन्दै ताजा जनादेशमा जानुपर्ने बताउनुभयो ।

‘देश अहिले चलिरहेको छैन । सरकार चलिरहेको छैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जाऔँ,’ उहाँले भन्नुभयो।ओलीले अदालतमा देखिएको समस्यामा सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताउनुभयो । ‘अदालतको हुर्मत लिने काम भएको छ । गलत फैसला गराउने र आफैँ हुर्मत लिने । कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार