नयाँ निर्वाचनतर्फ जानुपर्छ : रघुवीर महासेठ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिनुभयो । आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो,‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ ।

यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन । चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन । यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बुझेका छन् ।’

उहाँले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराउनुभयो। उहाँले भन्नुभयो,‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् । एमाले जहिले पनि जनताको बीचमा जान तयार रहेको थियो, छ र रहनेछ । हाम्रो अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ ।

उहाँले सुत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो । अहिले गठबन्धनभित्रैबाट पनि निर्वाचनमा जाने विषय भएको छ ।’ महासेठले वर्तमान सरकारले कोभिडविरुद्धको खोपको व्यवस्थापन पनि गर्न नसकेको र त्यो त एमालेको नेतृत्वको सरकारले गरेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिनुभयो । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार