अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछि के गर्ने छलफल भएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताउनुभएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहनेरनरहने भन्ने विषयमा छलफल नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलने भनेर छलफल भएको छैन।’ निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने भएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ ।

त्यस्तै देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताउनुभएको छ । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु ।

यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार