
रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने दाबी गर्नुभएको छ। उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलनमा भाग लिन पुग्नुभएका उहाँले अहिले यो दल दुब्लाएजस्तो देखिए पनि आगामी निर्वाचनमा वि.सं २०६४ कै अवस्थामा फर्कने बताउनुभयो।
अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले आदिबासी, जनजाति, घले, गुरूङ, सबै क्षेत्रको बृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताउनुभयो । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदायमाझ आग्रह पनि गर्नुभयो ।
टुक्रिएर गएका बाबुराम भटृराई, वैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्याउने महराले विश्वास व्यक्त गर्नुभयो। उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो। रासस