मंसिर २३ गतेसम्म मिल्न काँग्रेसका चार नेतालाई अल्टिमेटम

काठमाडौँ । सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिनुभएको छ । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने युवा नेताहरुले बताउनुभएको हो ।

‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं,’ सोमबार डा. शेखर कोइरालाले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा सहभागी युवा नेता गगन थापाले भन्नुभयो, ‘२४ गते महाधिवेशन उद्घाटन हुँदैछ, २३ गते भन्दा उता हामी पर्खन सक्दैनौं । महाधिवेशन उद्घाटनका बेलामा हामी ठोस निर्णय गरेर त्यहाँ जानुपर्छ ।’

डा. शेखर कोइरालासँगै कार्यक्रममा उपस्थित अर्का नेता चन्द्र भण्डारीले देश नै डुब्न लागेका कारण आफूहरुले काँग्रेसमा नेतृत्व परिवर्तन चाहेको बताए । उनले भने, ‘पार्टीमा धेरै कुराहरु खस्किँदै गएको छ । महाभारतको पात्र द्रौपदीजस्तो भएको छ मेरो देश । कुनै पार्टीको मात्रै कुरा रहेन, समग्रमा नेपालको पोलिटिक्स नै बिग्रियो । त्यसकारण हाम्रो अभियान हो पार्टी सुधार्ने । पार्टी सुध्रियो भने राजनीति सुध्रिन्छ । राजनीति सुध्रियो भने देश सुध्रिन्छ भन्ने हाम्रो भनाइ हो । तर, लिडरसीप नभइकन हुँदोरहेनछ ।’

त्यसैगरी कार्यक्रममा सहभागी अर्का युवा नेता धनराज गुरुङले संस्थापन इत्तर पक्षबाट सभापतिमा दाबी गरिरहेका रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई २३ गतेभित्र मिल्न सुझाव दिनुभयो । मिल्न नसक्ने भए आफ्नो पक्षका जिल्ला सभापतिहरूलाई गोप्य मतदान गर्न लगाएर उम्मेदवार छाने पनि हुने गुरुङले बताउनुभयो ।

संस्थापन इत्तर पक्षका युवा नेता गुरुङले भन्नुभयो, ‘अहिले हामी जिल्ला सभापतिहरूकै टाउको गनिराखेका छौं भने आफ्नो पक्षका जिल्ला सभापतिहरू बसेर गोप्य मतदान गरौं, जसको बढी आउँछ, उही उम्मेदवार बनौं ।’ नेता गुरुङले थप्नुभयो, ‘यो पनि उहाँहरुले गर्न सक्नुभएन भने चन्द्रजी र गगनजीले भनेजस्तै हामी टिम बनाउँछौं, उपसभापति दुईटा, महामन्त्री दुईवटा, सहमहामन्त्री आठवटा ।

त्यसपछि सदस्यहरुको टिम बनाएर सभापतिमा हामीलाई यो मान्छे चाहिन्छ भनेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा हामी पुग्न सक्छौं । यो अन्तिम विकल्प हो, २३ गतेभन्दा उता जान सक्ने परिस्थिति छैन ।’डा. शेखर कोइरालाको कार्यक्रममा सहभागी पूर्वसांसद सरिता प्रसाईले काँग्रेस बिग्रियो भन्नेहरुले पनि पुरानै नेतृत्वलाई भोट हाल्ने गरेको गुनासो गर्दै परिवर्तन चाहने हो भने नयाँ नेतृत्व चुन्नुपर्ने बताउनुभयो ।

अर्का युवा नेता बद्री पाण्डेले सुदुर पश्चिममा संस्थापन इत्तर पक्षको पोजिसन राम्रो देखिएको बताउनुभयो। साथै उहाँले प्रदेशको अधिवेशन र जिल्ला सभापतिहरूको गणितलाई मात्रै हेरेर महाधिवेशनको मत अडकल गर्न नसकिने बताउनुभयो । अर्का नेता दीपक गिरीले देउवा पक्षबाट मतदाता नामावलीमै धाँधली भइरहेको गुनासो गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार