म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । सो टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राधल एजेन्ट्स (नाता) को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका लागि आएका हुन् ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नविन पोखरेल , नाटाका प्रदेश अध्यक्ष सञ्जय कान्त सिग्देल , तारा गौतम सहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । म्याग्दीको पर्यटकिय स्थल टोड्के र मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा , भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना रहेको नाटाका तारा गौतमले बताउनुभयो । टोलीले पर्यटकीय स्थलहरुको निरिक्षण गरेर पर्यटक ल्यागनका लागि प्याकेज बेच्ने गौतमले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रबन्धक नविन पोखरेलले म्याग्दी जिल्ला पर्यटक यात्रीहरुका लागि चौतारी भएकाले गन्तव्य मुस्ताङ बनाएर आउने पर्यटकलाई म्याग्दीमा थकाई मार्न सक्ने गरि पर्यटन पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुध दिने गाईलाई धेरै घाँस हालिन्छ भन्ने उखान सम्झिदै जहाँ पर्यटनको सम्भावना छ त्यहाँ पर्यटन बोर्ड पुग्ने बताउनुभयो ।

कार्यक्रममा नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले पर्यटकीय स्थलहरुलाई चिनाउनका लागि आन्तरिक पर्यटककै अथवा स्थानीयकै भूमिका महत्वपूर्ण हुने हुँदा म्याग्दीको पर्यटकीय स्थलमा पहिला म्याग्देलीहरु नै पुग्नु पर्ने धारणा राख्नुभयो । पछिल्लो समयमा म्याग्दीको टोड्के आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेकाले यसको थप प्रचारप्रसारका लागि भ्रमण स्थलको रुपमा टोड्केलाई छनौट गरिएको उहाँले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालको अध्यक्षता, र महासचिव अमित बानीयाँको संचालनमा सम्पन्न भएको स्वागत कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले समापन गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै श्रेष्ठले सडकले गर्दा पदमार्गहरु ओझेलमा परेकाले त्यसतर्फ पनि सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो । साथै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघले विभिन्न समयमा प्रकाशन गरेको स्मारिका पर्यटन बोर्ड र नाटालाई प्रदान गरिएको छ । भ्रमण टोलीमा पर्यटन बोर्ड, नाटाका पदाधिकारी, गण्डकी प्रदेशका पर्यटन ब्यबसायी, तथा संचारकर्मीहरु सहित २८ जना सहभागी छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार