म्याग्दीकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन

काठमाडौँ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी ९ वर्षीया बाल अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन हुनुभएको छ । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट हुनुभएको हो ।

आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्रतिभा र कामका आधारमा छनोट गरिएको जनाएको छ । अभियान्ता प्रेन्साले कोरोना महामारीका बेला जारी भएको लकडाउनका समयमा फुड बैंक, क्लोथ बैंक, बुक बैंक, सरसफाइ अभियान चलाएको कारण चर्चामा आउनुभएको थियो । प्रेन्साले बुक बैंक अभियानलाई भने अहिले पनि निरन्तरता दिनुभएको छ ।

बालिकामाथी हुने हिंसा, बलात्कारका घटना न्यूनीकरणका लागि कडा कानुन बनाउनु पर्ने लगायतका मागहरु समेत राखेर उहाँले विभिन्न निकायमा समेत ज्ञापनपत्र बुझाउनुभएको थियो । २०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार