ममाथि फेरि राजनीतिक हिंसा भयो : घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गर्नुभएको छ । प्रदेश १ को सभापतिमा चुनाव लड्नुभएको उहाँ सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित हुनुभएको थियो।

घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार हुनुहुन्थ्यो । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित हार स्वभाविक भएको बताउनुभयो । तर प्रदेश १ को चुनाव मुल्य मान्यताको राजनीतिको स्खलनको जिवन्त दृष्टान्त भएको भन्दै उहाँले भन्नुभयो, ‘मूल्य मान्यता र आदर्श कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भयो ।’

प्रतिनिधिसभा निर्वाचनमा आफूलाई टिकट नदिएर पार्टी सभापति शेरबहादुर देउवाले राजनीतिक हिंसा गरेको भन्दै उहाँले भन्नुभयो, ‘अहिले फेरि राजनीतिक हिंसा भयो । सत्ताको चरम दुरुपयोग भयो ।’ १६३४ मत गणना हुँदासम्म आफ्नो अग्रता रहेको तर, ११५ मत गन्दा चमत्कारिक रुपमा २ भोटले हारेको देखाइएको भन्दै उहाँले पुनः मतगणना गर्न समेत माग गर्नुभएको छ । त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदन समेत दिएको, तर केन्द्रले आलटाल गरेको उहाँले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार