कांग्रेस महाधिवेशन : जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ । कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुखसमेत हुनुहुन्छ ।

कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिबासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङ सञ्चारकर्मीसँग भन्नुभयो, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिबासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा हुनुहुन्थ्यो । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर काम गर्नुभयो । पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका गुरुङ १३ औ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित नेतृ हुनुहुन्छ ।

०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ महिलाले चुनाव लड्नुभएको थियो। तीमध्ये गुरुङ प्रदेश १ कै एक्ली उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित हुनुभयो । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्यसमेत हुनुहुन्छ । उहाँ ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार