
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवशेनमा आफू सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । काठमाडौँको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताउनुभएको हो ।
महाधिवेशन सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेता सिंहको यो अभिव्यक्तिले आफ्ना समूहबाट एउटा मात्र उम्मेदवार बनाउन कसरत गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई चुनौती थपेको छ । कांग्रेसलाई विधि/विधानअनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गर्नुभयो । संस्थापनइतर समूहबाट नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, र केन्द्रीय सदस्य डा.शेखर कोइराला आकांक्षी हुनुहुन्छ । शशांकले सहमति भए आफू पछि हट्ने बताउनुभएको छ भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताउनुभएको छ । नागरिक खबरबाट