पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गर्नुभएको छ । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उहाँले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’ यसैगरी अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध लगाउन नसकिने भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । ‘आयातलाई प्रतिबन्ध लगाउन आजको जमानामा सम्भव पनि छैन,’ उहाँले भन्नुभयो, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्नुभयो। ‘अहिलेको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन तपाईंहरूलाई आग्रह छ,’ उहाँले भन्नुभयो, ‘जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईंहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने रु’ उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचा समेत मन्त्री शर्माले गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार