
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेस नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमसीसी अगाडि बढाउन चाहे पनि दलहरुबीच सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो ।
बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको कार्यव्यवस्था परामर्श समिति जारी रहेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले बताउनुभयो । आजको बैठकमा एमसीसी पेस गर्ने चर्चा चले पनि पेस नहुने स्रोतले बतायो ।
आजको बैठकमा यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिका लागि पेस हुने सम्भावित कार्यसूची छ । तर, बैठकमा प्रमखु प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध भने कायमै राख्ने भएको छ । मंगलबारको विरोधलाई जारी राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । नागरिक खबरबाट